सायाबुङ : आधुनिक संसारको परिप्रेक्षमा

Written by Dev Khambu
June 07, 2020

राईहरुले टाउकोमा बेरेर लगाईने फेटा जस्तो परिहनलाई सायाबुङ भनिन्छ। सायाबुङलाई खस नेपालीमा रुपान्तर गर्दा “शिरको फुल” भन्ने अर्थ लाग्छ (बान्तावामा)। राईहरुले सायाबुङलाई छेन्छोक्ली (हिमाल टाकुरा) को प्रतिक मान्ने गरेकोले यो सेतो रगंको हुन्छ। सामान्यता टाउकोमा लगाउने सायाबुङ १२ हात लामो (लगभग ५ मिटर) हुने गर्दछ र यसलाई टाउकोमा मिलाएर बेरिन्छ। यो किराती खम्बु राई पुरुषहरुको टाउकोमा लगाउने परिहन हो, जो उहिले देखी हाम्रा पुर्खाहरुले लगाउदै आएको मानिन्छ। माङपा, धामी, नाम्छोङ तथा मुन्दुमी ज्ञान भएका विद्वानहरुले सायाबुङको केही भाग कुम सम्म आउने गरी पुच्छर जस्तो निकालेर लगाएका हुन्छन् भने साधारण राईपाहरुले सायाबुङको सम्पूर्ण भाग टाउको वरिपरी मिलाएर बेरेको हुन्छन्। बिवाहमा र शिर उठाउने विषेश परम्परागत समारोहहरुमा विधिपुर्वक सायाबुङ लगाईन्छ। तर अन्य सामान्य समयमा टाउको छोप्ने उदेश्यले सायाबुङको प्रयोग गरिन्छ।

सायाबुङ जुनै पनि समयमा परिहन गर्न सकिन्छ। सायाबुङ टाउको छोप्ने लामो कपडा मात्र हैन, यसको बहुमुखी प्रयोगहरु छन् : जस्तै: उहिले लडाईको समयमा खुकुरी-तलवारको प्रहारबाट टाउकोलाई सुरक्षित राख्न हेल्मेटको रुपमा सायाबुङ लगाईन्थ्यो, टाउकोमा नाम्लो लगाएर भारी बोक्दा सायाबुङले समानको भारलाई हलुको महशुस गराउछ, खोलानाला तर्दा सायाबुङ खोलेर दोरी जस्तो गरी प्रयोग गर्न सकिन्छ, यसलाई पटुको सरह कम्बरमा बाध्नु पनि मिल्छ, खाने सरसमानलाई लपेट्नु पनि सायाबुङको प्रयोग गरिन्छ, बाहिर जंगल तिर बास बस्नु पर्ने बेला सायाबुङलाई फिजाएर ओड्ने-उछ्याउने कपडा सरह प्रयोग गर्न सकिन्छ, टनटलापुर घाममा टाउको छोप्नु र जाडो याममा टाउकोलाई न्यानो पार्ने गरी ढाक्नु पनि यसको विषेशता हो। यही गुणहरुले भरिपूर्ण भएको कारणले सायाबुङ सामन्याता सादा सेतो रंगको लामो सुतीको कपडा हुनेगरेको हो। चाडबाडमा सायाबुङलाई आकर्षक रुप दिदै चराचुरिंगीहरुको प्वाखले पनि सिगारिने गरिन्छ। मानवजातीले तानको अविस्कार गरेर कपडा बुन्नु थाले देखी नै सायाबुङको उत्पन्न भएको हो भन्ने मत पाईन्छ। तसर्थ यो प्राचिनकाल देखी नै किरातीहरुको शिरको परिहन हो।

दार्जीलिङ-सिक्किममा सायाबुङ भनेर खम्बु राई भाषामा भन्ने गरिन्छ भने नेपाल तिर यसलाई “फेटा तथा पगरी” भन्ने गरिन्छ। नेपालमा सामन्याता सायाबुङ जो पायो उसले लगाउने गरिदैन, तर विशिष्ट व्यक्ती तथा समाजमा उल्लेखिनिय कार्य गरी किर्तिमान प्राप्त गरेको व्यक्तिले मात्र यो लगाउने गर्दछन्। कुनै व्यक्तिलाई औपचारिकरुपमा सम्मान गर्दा पनि “पगरी”को नाममा “सायाबुङ” लगाईदिन्छ। उहिले पृथ्विनारायण र उसको बंशजहरुको शासन कालमा “पगरी राई” भनेर राई गाऊँको मुखियालाई भनिन्थ्यो। पगरी राईले रैतीहरुबाट “दशैं सिता (उपहार-राजस्व तथा टैक्स)” उठाउने व्यवस्था थियो। यो व्यवस्था दार्जीलिङ – सिक्किममा लागु भएको थिएन। तर पनि कालन्तरमा पुर्वी नेपाल, सिक्किम, दार्जीलिङ जस्ता बाहुल्य राईहरु बसोबास गर्ने क्षेत्रहरुमा राईहरुले पारम्पारिक सायाबुङ लगाउने अभ्यास न्युन हुँदै गएका थिए। यता दार्जीलिङ – सिक्किम तिर भने साकेला चाडहरुमा, किराती राईहरुको सभा-सम्मेलनहरुमा र आफ्नो जातिय पोसाक प्रदर्शन गर्नु पर्ने ठाउँहरुमा जो कोहीले सायाबुङ पहिरिने गर्दछन् र सिक्किमेली-दार्जीलिङगे राईहरु माझ यसको प्रयोग ब्यापक हुँदैछ।

Khambu Sayabung in the 21st century, Darjeeling.

हालैमा किराती राईहरु माझ जातिय पहिचान र संस्कृतिक संरक्षणको चेतनाले क्रान्तिकारीरुप लिएको छ। खम्बु राईहरुले आ-आफ्नो भाषा र संस्कृतीलाई पुन:जागरण गर्ने दिशा तिर कदम उठाई रहेका छन्। यसै क्रममा राईहरुले आफ्नो पारम्पारिक भेषभुसा प्रयोग गर्न थालेकोले किराती भेषभुसाहरु शहर-बजारहरुमा सजिलै उपलब्द हुँदै आउदै छन्। बजारमा पुर्व निर्मित (Ready-made) सायाबुङ पनि देखा पर्दैछन्, जसलाई दार्जीलिङ र सिक्किमका खम्बुजनहरुले प्रयोगमा ल्याएको देखिदैछ। यस किसिमको रेडिमेड सायाबुङ वास्तविक सायाबुङ सगँ मेल खादैनन्। सायाबुङको विशिष्टता भनेको नै यसको बहुमुखी प्रयोग हो, जो बजारमा पाईने सायाबुङले पुरा गर्न सक्दैन। सायाबुङ शुद्ध सेतो रंगको हुन्छ, जसलाई टाउकोको कपाल छेकिने गरी बेरिन्छ। जुन सायाबुङ बेरिएर लगाइदैन त्यो कृतिम, किर्ते, जाली, नक्कली सायाबुङ हुनेछ।

कृतिम सायाबुङमा किराती मौलिकपना छैन र यो वास्तविक सायाबुङ जस्तो पनि देखिदैन। कृतिम सायाबुङमा कपडाको पुच्छर राख्ने विधी गलत भएको छ। अगाडी नै भने झै सायाबुङबाट पुच्छर निकाल्ने विधी मुन्दुमी ज्ञान भएका माङपा, माङ्मा, नाम्छोङ र विद्वानहरुले मात्र पुच्छर निस्किएको सायाबुङ लगाउछन्। हामीले आदिवासी-जनजाति को मान्याता स्थापित गर्न खोजिरहेको छौं तर शिरको परिहन चै आधुनिक भएको रुचाउदै छौं। यो विवादस्पद छ। के हामीले वास्तविक सायाबुङ लगाउने हुत्ती सम्म छैन र ब्यापारीले डिजाइन गरेको सायाबुङ लगाउन बाध्य छौं। गहिराईमा डुबेर कुरा बुझौं। कृतिम सायाबुङ प्रयोग गरेर हाम्रो किराती पहिचानलाई अन्योलतामा नपुराऊ।

Dev Khambu

Dev Khambu is a writer with years of research and knowledge on Kirati culture and history. His writing is focused on providing a modern approach to Kirati traditions and philosophy.

Comment

  • कृत्रिम सायाबुङ्लाइ चाढो भन्दा चाढो बन्द गरेकै राम्रो हो| वास्तवमा, यसलाई सायाबुङ् भन्न कदापि मिल्दैन, यो टोपि हो| यसरी रेडीमेट टोपिलाइ सायाबुङ् भनि नाम दिनु , हाम्रो शीरको ताजलाइ तल देखाउनु हो| अन्तमा , अन्योलमा नपरौ जे सही हो त्यो गर्नू उचित हो|
    मेरो व्यक्तिगत विचार हो|
    तपाइको लेख साह्ै मनपर्यो, भावी दिनहरूमा यस्तै लेखहरु द्वारा हामी माझ अउनु हुन्छ भन्ने आशा राख्दै…

Leave a Reply

Subscribe to Our Newsletter to
Get Our Updates

Himalayan Cultures
Indigenous Cultures of the Himalayas.
Traditions, rituals, languages & philosophies
© 2020 Himalayan Cultures. All rights reserved.